वैदशिक रोजगारीका लागि कतार आएका म्याग्दीका निर प्रसाद कामीको हृदयाघातका कारण निधन भएको छ । विदामा घर गई परिवार र बालबच्चासँग बसेर रोजगारीमा पुनः कतार फर्कने योजना बनाएका ४३ वर्षीय कामीको गत बिहीबार राति निधन भएको हो ।

विगत ८ वर्षदेखि कतारमा कार्यरत उनी सुतिरहेकै अवस्थामा मृत भेटिएका थिए । उनी विदा भएर घर फर्किने जहाजको प्रतिक्षामा थिए ।

कतारको सरकारी अस्पतालको पोस्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हो । उनको मृत्युको बारेमा कम्पनीका अधिकारीले नेपाली दूतावासमा जानकारी गराएका छन् ।

दूतावास पुगी मृतकले पाउनुपर्ने सबै सेवा सुविधा बापतको रकम कम्पनीले बुझाएपछि शव नेपाल पठाउने अनुमति पत्र नियोगले जारी गरेको र थप प्रक्रिया पूरा गरी यथाशक्य शव पठाइने नेपाली नियोगका द्वितीय सचिव भुवन भट्टले मध्यान्हलाई जानकारी दिएका छन् ।

कोरोनाका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि शव पठाउने दिनसमेत यकिन भएको छैन ।
स्व. कामीको मृत्युबारे थप जानकारी लिन तथा सहायताका लागि मोना कतारका अध्यक्ष नरेन्द्र फगामी पनि दूतावास पुगेर शव सकेसम्म छिटो घरसम्म पुर्‍याइदिन अनुरोध गरेका छन् । फगामीले परिवारको अवस्था हेरेर आवश्यक सहयोग गरिने बताएका छन् । स्व. कामीको श्रीमतीसहित २ छोरा रहेका छन् ।  तिलु शर्मा पौडेल/मध्यान्ह

प्रकाशित मिति ११ जेष्ठ २०७८, मंगलवार ०५:२२